काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्।
एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाएका हुन्। उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघठन गरेको आरोप पनि लगाए। प्रधानन्यायाधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको र एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनले बताए।
लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको उनको आरोप छ। उनले हाल लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताए।
राज्यका निकायहरु आदेशको भरमा नभई कानुनअनुसार चल्नुपर्ने उनको भनाइ छ। देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नको लागि दबाब दिन युवाहरू संगठित हुनुपर्ने उनले बताए।
उनले भने, ‘राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। त्यो सही कुरा हो, साँचो कुरा हो। र, बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। अनि असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ?’









