images
images

सङ्घको जस्तो स्थानीय निर्वाचनमा हुरीबतास आउँदैन : प्रचण्ड

काठमाडौं -नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले राम्रो परिणाम ल्याउन सके देशको राजनीतिक परिस्थितिमा परिवर्तन आउने बताएका छन्।

तनहुँको आँबुखैरेनीमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तित्व, विगतको राजनीतिक इतिहास र पृष्ठभूमिलाई विशेष प्राथमिकता दिने बताएका हुन्।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरू प्रत्यक्ष रूपमा जनताको सम्पर्कमा रहने भएकाले उनीहरूको व्यक्तिगत छवि, व्यवहार र विगतको कामले चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्नेछ।

प्रचण्डले प्रतिनिधिसभा निर्वाचनको जस्तो लहर स्थानीय तहको निर्वाचनमा नचल्ने दाबी गर्दै मतदाताले उम्मेदवारबारे जानकारी लिएर मात्रै मतदान गर्ने धारणा राखे।

उनले भने, ‘सङ्घको जस्तो स्थानीय हुँदैन। उम्मेदवार नै नचिनीकन, उसको इतिहास र पृष्ठभूमि नै थाहा नभईकन जनताले यसपटक भोट हाल्दैनन्। त्यसो भएर पहिलाको जस्तो हुरीबतास स्थानीय तहमा आउन सम्भव छैन।’

स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउने गरी तयारी गर्नुपर्नेमा जोड दिँदै उनले त्यसको प्रभाव समग्र राष्ट्रिय राजनीतिमा समेत पर्ने बताएका छन्।