images
images

सार्कका नयाँ महासचिव सरवरले सम्हाले कार्यभार

काठमाडौं, ११ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले नियुक्तिलाई अनुमोदन गरेसँगै गत मङ्गलबारदेखि उनले कार्यभार सम्हाल्नुभएको सार्क सचिवालयले जनाएको छ ।

उनी सार्कको १५औँ महासचिव हुन् । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् ।