images
images

मंसिर ५ गतेसम्म नरोकिने भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन

काठमाडौँ – चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ। बिहीबार चलचित्र ‘दिमाग खराब’का निर्माता र नेपाल चलचित्र संघबीचको छलफलपछि चलचित्र आगामी मंगलबार (मंसिर ५ गते) सम्म प्रदर्शन हुने भएको छ।

छलफल सकारात्मक भएपछि तत्कालका लागि चलचित्रको प्रदर्शन नरोक्ने सहमति भएको चलचित्रका निर्देशक निश्चल बस्नेतले जानकारी दिएका छन्।

पर्याप्त शो नदिइएको भन्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेको थियो। छलफलमा दर्शकको मागअनुसार शो बढाउँदै जाने समझदारी भएको छ।

निर्देशक बस्नेतले आगामी मंगलबार थप छलफल हुने त्यसपछि थप निर्णय लिने बताएका छन्। निर्माण पक्षले चलचित्रको शेयर बाँडफाँट ५०/५० प्रतिशत हुनुपर्ने माग गरेका छन्।

हाल पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा ५०/५० प्रतिशत शेयर बाँडफाँट हुन्छ। तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँटफाँट हुने गरेको छ।