images
images

बमजनका लागि बुक भएको थियो ५ करोडको ल्यान्डक्रुजर

 काठमाडौँको हात्तीगौँडाबाट मंगलबार पक्राउ परेका बालतपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीको रूपमा रहेकी युवतीले आफूमाथि यौन शोषण गरेको जाहेरी बम्जनबिरुद्ध दिएकी थिइन्। उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते दिएको अनुमतिका आधारमा बम्जन पक्राउ परेका हुन्।

मंगलबार बेलुकी हात्तीगौँडास्थित उनको घरबाट पक्राउ गर्न प्रहरी पुग्दा उनी झ्यालबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ। झ्यालबाट हाम फालेका उनलाई घरकै परिसरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको विवरणअनुसार २०४६ साल चैत २७ गते जन्मिएका बम्जन ३४ वर्षका भए।

प्रहरीले बम्जनको घरबाट बिभिन्न १७ देशका ३० लाख ९२ हजार मूल्यबराबरका विदेशी मुद्रा र ३ करोड ३ लाख ७५ हजार नेपाली मुद्रासहित ३ करोड ३४ लाख नेपाली रुपैयाँबराबरको मुद्रा बरामद गरेको पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

त्यसबाहेक प्रहरीले बम्जनको घरबाट मोटरसाइकलका ३ थान ब्लुबुक, टोयोटा हाइलक्स गाडीको चाबी, २० वटा पेनड्राइभ, सोनीको भ्वाइस रेकर्डर, २ थान मेमोरी कार्ड, २ वटा ल्यापटप, १४ वटा मोबाइल र ५ वटा आइप्याड र ट्याबहरु बरामद गरेको छ। उनको साथबाट ४ वटा मोटरसाइकल पनि बरामद भएको छ।

बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट विभिन्न समयहरूमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको पनि सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

उनलाई बुधबार नै अनुसन्धानका लागि सर्लाही लगिने प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनी टोयोटा फर्च्यूनर चढ्ने गरेको बताएको छ। उनलाई चढ्नका लागि ५ करोड मूल्यबराबरको सेतो रङको ल्यान्ड क्रुजर बुक भइसकेको पनि प्रहरीले जानकारी दिएको छ।