images
images

दुहुनो गाईजस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना:मेयर बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एउटै परियोजना बारम्बार उद्घाटन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व कीर्तिमान कायम गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री दाहालले सोमबार मेलम्ची खानेपानीको उद्घाटन गरेकोप्रति कटाक्ष गर्दै मेयर शाहले मेलम्ची खानेपानी पाँच पटक उद्घाटन भइसकेको बताए।

उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्,’हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर।’

मेलम्चीका नाममा अर्बौँका गाडी किनिएको भन्दै मेयर शाहले उक्त परियोजना दुहुनु गाईजस्तो भएको टिप्पणी गरेका छन्।

‘विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपतिसमेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो। मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि.स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो।

तर, सुरूङ खन्न सुरू गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो। त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए। मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूची त झन् निकै लामो बन्ला। मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए। एउटा दुहुनो गाईजस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना,’ उनले भनेका छन्।