images
images

भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार सिंहदरबारपरिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए।

उपत्यकाको खानेपानी समस्या समाधान गर्न तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको परिकल्पना महत्त्वपूर्ण रहेको भन्दै नेता सिंहले भट्टराईलाई स्मरण गरे। मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरण मात्रै गरिएको उनको प्रस्टोक्ति थियो।

‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ। हामीले सुधार गर्नुपर्छ। योजना मात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउन्ड वाटरको जुन एक्स्ट्रयाक्सन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ।’

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभएर त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा जोड दिनुपर्ने बताए।