images
images

यी हुन् हिरासत छल्न अस्पताल भर्ना हुने ‘भिआइपी’हरू

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा बिहीबार पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा अस्पताल भर्ना भए। उनीहरूलाई बिहीबार अबेर अस्पतालमा भर्ना गरिएको थियो।

पक्राउ परेपछि यी व्यक्ति एकाएक बिरामी भए। र, अस्पताल भर्ना भए। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर/प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायु अस्पतालमा भर्ना गरिएको हो।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। पक्राउ परेपछि अस्पताल भर्ना हुनेहरूको सूचिमा अरुण चौधरी र अजितमानसिंह थापाको नाम थपिएको छ।

यसअघि पनि विभिन्न प्रकरण र काण्डका आरोपितहरू पक्राउ परेपछि अस्पताल भर्ना भएका प्रशस्त उदाहरण छन्। अधिकांशलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हुन्छ। तर उनीहरू पक्राउ परेपछि बिरामी हुन्छन् र अस्पतालमा भर्ना हुन्छन्। सामान्य रूपमा हेर्दा पक्राउ परेका यस्ता व्यक्तिहरू हिरासत छल्न यस्तो गर्ने गरेका छन्।

यसअघि विभिन्न प्रकरण र काण्डमा पक्राउ परेर बिरामी भएका व्यक्तिहरू छन्। यसअघिका प्रकरण,काण्ड र घटनामा पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छ:

१) पूर्व सभामुख कृष्णबहादुर महारा पनि पक्राउ परेको केही दिनपछि स्वास्थ्यमा समस्या आएको दाबी गर्दै नर्भिक अस्पताल भर्ना भएका थिए। उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए।

२) २०६९ सालमा डिडिसिको ठेक्का लिन नक्कली कागजात बनाएपछि पक्राउ परेका गोविन्दलाल संघाई अस्पताल भर्ना भएका थिए।

३) बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका थिए।

४) अभिनेता अनमोल केसी पनि चिरायुमै बसेका थिए।

५) अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह पनि अस्पतालमा बसेकी थिइन।

६) भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङ पनि हिरासत छल्नकै लागि करिब ६० दिन त्रिवि शिक्षण अस्पतालको क्याबिनमा भर्ना भएका थिए।

७) २०७६ मंसिर २७ मा मादक पदार्थ सेवन गरी सवारी चलाई गोरखाकी लीला देवकोटालाई ठक्कर दिएर मारेका पृथ्वी मल्ल पनि हिरासत अवधि छल्न पटक–पटक चिरायु अस्पताल भर्ना भएका थिए।

८) कमसल धितो राखेर सिद्धार्थ विकास बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिई बदमासी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गौरी ज्ञवाली पनि अस्पताल बसेकी थिइन्।

९) २०७६ साल कात्तिकमा दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेका २५ जुवाडे मध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी गरी ८ जना  ह्याम्स अस्पताल भर्ना भएका थिए।

१०) २०७८ साल कात्तिकमा लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बसेका थिए।

११) जागिर लगाइदिने र विदेश पठाइदिने मात्रै होइन, उद्योग नै खोलिदिनेसम्मको प्रलोभन देखाएर ७० करोड ठगेको आरोपमा २०७६ साल मंसिरमा पक्राउ परेका दोलखा मेलु–१ पवटीका दिनेश कोइराला पनि अस्पतालमा बसेर अदालतमा हाजिर भएका थिए।

१२)भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा  वीर अस्पताल र नर्भिकमा बसेका थिए।

१३) ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा पनि अस्पतालमै बसेका थिए।