इच्छाराज तामाङलाई तीन वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

काठमाडौँ–विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेकोमा सजाय निर्धारण गरेको छ।

विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा माघ ७ गते गरेको फैसलामा आइतबार सजाय निर्धारण गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सजाय निर्धारण भएको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङलाई ३ वर्ष कैद १ अर्ब ७२ करोड ४४ लाख ६३ हजार जरिवाना भएको छ।

त्यस्तै श्रीमती सिर्जना शाक्य तामाङलाई डेढ बर्ष कैद सजाय भएको छ।

उनलाई १ अर्ब ३ करोड ५२ लाख ४३ हजार जरिवाना भएको छ। प्रतिवादी केशवलाल श्रेष्ठलाई डेढ बर्ष कैद र २५ करोड ६५ लाख ८६ हजार जरिवाना भएको छ।

प्रवक्ता कार्कीका अनुसार मिनाकुमारीलाई पनि दोषी ठहर गरेको छ। छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङसहित प्रतिवादी सबैको सम्पत्ति जफत भएको छ।

सिभिल सहकारीका सञ्चालक तामाङविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो।

श्रीमती सिर्जनालाई एक अर्ब तीन करोड ५ लाख, छोरी प्रतीक्षालाई ६ करोड २२ लाख, अर्की छोरी प्रतिष्ठालाई एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। त्यस्तै, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई २६ करोड ६१ लाख तथा मिनाकुमारी श्रेष्ठलाई सम्पत्ति जफतको प्रयोजनले प्रतिवादी बनाइएको थियो।

सहकारी ठगी मुद्दा भने जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ। तामाङको नेतृत्वको सहकारीमा सर्वसाधरणको ६ अर्ब रुपैयाँ डुबेको छ।