images
images

मानव अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौँ, २३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताउनुभयो ।

“नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मानव अधिकार बिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार गरेको छ ।”

मानव अधिकारसँग सम्बन्धित अधिकांश अधिकार संविधानको मौलिक हकका समावेश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारको संरक्षण र सम्बर्द्धनको जिम्मेवारीसहित प्रभावकारी अनुगमन र सुपरीवेक्षण गर्ने राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूको स्थापना भई क्रियाशील स्मरण गर्नुभयो ।

मानव अधिकारको हननमा स्वतन्त्र र सक्षम न्यायपालिकाबाट उपचार प्रदान गर्ने संवैधानिक प्रत्याभूति गरिएको बताउँदै प्रधामन्त्री प्रचण्डले भन्नुभयो, “मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गैरसरकारी संस्था, नागरिक समाजसँगको समन्वयात्मक रूपमा मात्र सफल हुने कार्य भएको हुँदा मानव अधिकारको क्षेत्रमा सम्बद्ध क्रियाशील निकायको महत्त्वपूर्ण भूमिकालाई उपयोग गरी विभिन्न चेतनामूलक कार्यक्रमहरू सशक्त बनाइएका छन् ।”–––––