काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको बताएका छन्।
सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उक्त जानकारी दिएका हुन्।
सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको पनि सचिव राउतले जानकारी दिए। उनले भने, ‘हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषद्को ०८३ असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको छ। नेपाल सरकारको यो स्वीकृति प्राप्तपश्चात अर्थ मन्त्रालयबाट बजेटको पनि निकासा भइसकेको हुनाले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ।’
पछिल्लो समयमा सातवटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डिडिए रिपोर्ट) भइरहेको पनि बताए। कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डिडिए रिपोर्ट आएपछि मात्रै तय हुने उनको भनाइ छ।
उनले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुङ्गा खानी र रातो माटो खानीको लाइसेन्सको अवधि सकिएकोमा लाइसेन्सको अवधि थप गरी लाइसेन्स प्रदान गर्नको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको पनि जानकारी दिए।








