images
images

बूढीगण्डकी नदीमा बन्ने पुलको शिलान्यास गर्न सभामुखसहित तीन मन्त्री गोरखा जाँदै

काठमाडौं – सभामुख डीपी अर्यालसहित तीन मन्त्री आज गोरखा जाने भएका छन्। उनीहरू बूढीगण्डकी नदीमाथि निर्माण हुन लागेको पुलको शिलान्यास कार्यक्रममा सहभागी हुन गोरखा जान लागेका हुन्।

गण्डकी गाउँपालिका–शिउरेनिटारबाट धादिङ जोड्ने गरी निर्माण गर्न लागिएको उक्त पुलको शिलान्यास कार्यक्रममा सभामुख डीपी अर्याल, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल सहभागी हुनेछन्।

गृहमन्त्रीको सचिवालयका अनुसार पुलको शिलान्यास कार्यक्रम दिउँसो २ बजे तय गरिएको छ।

सोही अवसरमा बूढीगण्डकी जलविद्युत् आयोजनासँग सम्बन्धित विषयमा सरोकारवालाहरूसँग छलफलसमेत गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा गण्डकी गाउँपालिकाका स्थानीय बासिन्दा तथा विशेषगरी बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकलाई उपस्थितिका लागि आग्रह गरिएको छ।