images
images

धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

काभ्रेपलाञ्चोक- जलनका बिरामीलाई विशिष्टीकृत उपचार तथा पुनर्स्थापना सेवा प्रदान गर्ने उद्देश्यका साथ धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ स्थापना गरिएको छ ।

नबिल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत निर्मित उक्त वार्डको मंगलबार संयुक्त रूपमा उद्घाटन गरिएको हो ।

नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले वार्डको उद्घाटन गरेका हुन् ।

नेपालमा जलनको उपचार चुनौतीपूर्ण बनिरहेका बेला यस वार्डले बिरामीलाई गुणस्तरीय शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवामा सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष चौधरीले संस्थाको वास्तविक सफलता आर्थिक उपलब्धिसँगै समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट मापन हुने बताए ।

सीमित पूर्वाधारका कारण कोही पनि गुणस्तरीय उपचारबाट वञ्चित हुन नपरोस् भनेर दीर्घकालीन स्वास्थ्य पूर्वाधार विकासमा बैंकले सहकार्य गरेको उनको भनाइ थियो ।

त्यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले ‘नबिल केयर’ अन्तर्गत यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालित निःशुल्क जलन शल्यक्रिया शिविरबाट करिब पाँच सय बिरामीले उपचार पाएको स्मरण गरे ।

धुलिखेल अस्पतालसँगको यो सहकार्यले जलन प्रभावित र तिनका परिवारका लागि उपचार र सम्मानको केन्द्रका रूपमा काम गर्ने उनले विश्वास व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले सामुदायिक अस्पतालका रूपमा ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा दिँदै आएको धुलिखेल अस्पतालका लागि नबिल बैंकको यो सहयोग महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए ।

यो साझेदारीले नेपालमा समग्र जलन उपचार सेवाको उत्कृष्ट नमुना विकास गर्न मद्दत पुग्ने धारणा उनले राखे ।

कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।