images
images

जनकपुरमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु

जनकपुरधाम । धनुषाको जनकपुरधाममा आजदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद संगोष्ठी (सम्मेलन) सुरु भएको छ ।  महेन्द्रनारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा आज सम्मेलनको उद्घाटन गर्दै बोधिसत्व स्वामी आनन्द अरुणले विश्वमा देखापरेका जटिल स्वास्थ्य समस्या समाधानमा आयुर्वेद चिकित्सा पद्दति सहयोगीसिद्ध हुनसक्ने भन्दै यसको प्रवद्र्धनका लागि सबैले ध्यानदिनुपर्नेमा जोड दिए ।

नेपाल वैदिक सनातन धर्म परम्पराको देशमात्रै नभएर आयुर्वेदको समेत पवित्र भूमि रहेको भन्दै उनले यहाँको परम्परागत चिकित्सा, बहुमूल्य जडीबुटीहरुको उचित प्रयोग हुनसके नेपाल र सिङ्गो मावनजगत् लाभान्वित हुनसक्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाउनुभएको शुभकामना सन्देश मरिससबाट आएका डा ज्ञानेश्वर सिंहले वाचन गरे । सन्देशमा प्रधानमन्त्रीले  आयुर्वेद परम्परादेखि दिमाग, शरीर र आत्माबीचको सन्तुलन कायम गर्नका लागि परापूर्वकालदेखि नै महत्वपूर्ण माध्यम बनिरहेको भन्दै विश्व मानवकल्याणका लागि आदिम आयुर्वेद परम्पराको संरक्षण, त्यसको समयसापेक्ष गुणस्तरीय विकास तथा नियमन जरुरी रहेको बताएका छन् ।

विश्वका १७ देशबाट आएका आयुर्वेदका जानकारसहित करिब ६ सय जना सहभागी रहेको सम्मेलनमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्व, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धानबारे छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक डा राकेशकुमार सिंहले राससलाई बताए ।

ब्रम्हभूमि हेल्थ रिसर्च सेन्टर, नेपाल आरोग्य सङ्गठन, ब्रम्हभूमि आयुर्विज्ञान अनुसन्धान संस्थानले संयुक्तरुपमा सम्मेलन आयोजना गरेका हुन् ।  रासस