images
images

विश्वकप क्रिकेट : भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले चुम्यो कीर्तिमानी छैठौँ उपाधि

एकदिवसीय विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। आइतबार भएको फाइनलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया छैटौं पटक विश्व विजेता बनेको हो। विश्वकपमा अस्ट्रेलियाले फाइनलमा दोस्रो पटक भारतलाई हराएको हो। यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।

 

अहमदाबाद स्थित विश्वकै सर्वाधिक ठूलो नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई जितका लागि २ सय ४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै च्याम्पियन बन्यो।

अस्ट्रेलियाले जितसँगै २७ वर्षदेखि विश्वकपको फाइनलमा नहारेको इतिहासलाई निरन्तरता दियो। टोलीले पछिल्लो २४ वर्षमा खेलेका सबै फाइनल जितेको छ। फाइनलमा अस्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो।

जारी विश्वकपमा भारतले लगातार १० खेल जित्दै फाइनल पुगेको थियो। तर उसका लागि एक खेलको हार उपाधिबाट बञ्चित गराउन पर्‍याप्त बन्यो। अस्ट्रेलियाले भने विश्वकपको लिग चरणमा सुरुवाती दुई खेल हारेपनि त्यसपछि पुनरागमन गर्दै लगातार जित सहित उपाधि चुम्यो।

फाइनलमा अस्ट्रेलियाले १ लाख बढी घरेलु समर्थकलाई स्तब्ध पार्दै जित निकाल्ने क्रममा अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सानदार शतकीय इनिङ खेले। उनले सर्वाधिक १ सय ३७ रनको इनिङ खेले।  त्यस्तै  मार्नुस लबुसेनले ५८ रनको अविजित इनिङ खेले।  यि दुईबिच चौंथो विकेटका लागि १ सय ९२ रनको साझेदारी गरेका थिए।  खराब सुरुवात गरेको अस्ट्रेलियाले ६.६ ओभरमा ४७ रन बनाउँदा तीन विकेट गुमाएको थियो। तर त्यसपछि हेड र लाबुसेनले सुझवुझपूर्ण इनिङ खेल्दा जित हात पार्न सफल भयो।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो। अस्ट्रेलियन बलरसामु खुलेर खेल्न नसकेको भारतका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। भारत विरुद्ध अस्ट्रेलियाले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दा ब्याटिङमा पनि सानदार प्रदर्शन कायम राख्दा सहज जित निकाल्यो।

भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य ब्याटरले अर्धशतक बनाउन सकेनन्। उसका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। १०७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। त्यस्तै विराट कोहलीले ४ चौकाको सहयोगमा ६३ बल खेल्दै ५४ रन बनाएका थिए।

त्यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई टिमको स्कोर ३० रन हुँदा ४.२ ओभरमा ४ रनमा गुमाएको थियो। दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४  ओभरमा टिमको स्कोर ७६ रन हुँदा ४७ रनमा गुमायो। त्यसपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भएका थिए।

कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि टिमले उच्च स्कोर बनाउन संघर्ष गर्नु परेको थियो। कोहली ५४ रन बनाउँदा कप्तान प्याट कमिन्स द्वारा बोल्ड भए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिंदा प्याट कमिन्स र जोस ह्याजलवुडले समान २-२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल  र एडम जम्पाले समान १-१ विकेट लिए। घरेलु समर्थकले भरीभराउ विश्वकै सर्वाधिक ठूलो रङ्गशालामा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै रन वर्षाको अपेक्षामा बसेका समर्थकहरु लगातारको विकेट पतनसँगै चुपचाप रहन बाध्य भएका थिए।

दुवै टोली एक अर्का विरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिडेका हुन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो।