images
images

इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट बन्यो नेपाल

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको एक सय वर्ष पुगेको अवसरमा आयोजित भिडियो प्रतियोगितामा नेपाल प्रहरीले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ।

नेपाल प्रहरीका इन्स्पेक्टरद्वय नारायण थापा र उमेश गुरुङले निर्माण गरेको जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा आउन सक्ने समस्याहरूको समाधान र दिगो विकासको लक्ष्य प्राप्त गर्न इन्टरपोलको भूमिका समेटिएको ‘लेट्स सेभ द प्लानेट– इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो बनाएका थिए।

इन्टरपोलले युवा प्रहरी अधिकृतबीच यस्तो भिडियो प्रतिस्पर्धाको आयोजना गरेको थियो। मंगलबारदेखि अस्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन इन्टरपोलका अध्यक्ष डा. अमहद नासर अल–राइसाइबाट नेपाल प्रहरीलाई सर्वोत्कृष्ट भिडियो बनाएबापत सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ।

महासभामा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, नेपाल प्रहरीका एसपी अनुपमशमशेर जबरा तथा इन्टरपोलको सय वर्षको अवसरमा सगरमाथा आरोहण गर्ने वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली सहभागी छन्।