images
images

बालकुमारी घटना: मृतकको परिवारलाई १० लाख रुपैयाँ राहत, घाइतेको उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी, डिएसी र मन्त्री ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको जानकारी दिइन् । शुक्रबारको घटनामा सुरक्षा कमजोरी भएको बताउँदै अदालतको फैसला ३ बजे आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र सम्मयता अपनाउन नसक्दा क्षति हुन पुगेको उनले बताएकी छिन् ।

ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई निलम्बन

उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।

मन्त्री शर्माले भनिन,‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दापनि स्वत: स्फूर्त रुपमा जुलुस भएको हो । करिब ३ बजे अदालतको पूर्ण फैसला आउने भन्दापनि ठीक ढंगले सञ्चार गर्न सकिएन । आन्दोलनमा उत्तेजना हुने गर्छ । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढंगले छलफल पनि गरेका छौँ । त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डीएसपी, पीएसओ, उपसचिवलगायतका कर्मचारी निलम्बित भएका छन् ।’

सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले छानबिन प्रक्रियालाई अघि बढाइएको जानकारी दिइन् । शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो