images
images

भुटानमा छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत

काठमाडौं : भुटानमा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले बहुमत प्राप्त गरेको छ।

कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ स्थानमा विजयी भएको छ। मंगःबार  बिहान ८ बजे सुरु भएको मतदान साँझ ४ बजेसम्म चलेको थियो । भुटानको संसद् नेसनल एसेम्बलीका ४७ सिटका लागि आज मतदान भएको हो।

दोस्रो चरणको निर्वाचनमा ४७ स्थानका लागि दुई प्रमुख दलहरु पीडीपी र बीटीपीका ९४ उम्मेदवार प्रतिस्पर्धामा थिए। गत नोभेम्बरमा भएको पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने यी दुई दलबीच दोस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धा भएको हो। पहिलो चरणको मतदानपछि तीन दल प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

१५ वर्षअघि अर्थात सन् २००८ मा प्रजातन्त्र स्थापना गरिएयता भुटानमा भएको यो चौथो संसदीय निर्वाचन हो। तत्कालीन राजा जिग्मे सिंघे वाङचुकले अक्सफोर्ड विश्वविद्यालय पढेका आफ्ना छोरा जिग्मे खेसर नामग्याल वाङचुकलाई राजगद्दी सुम्पिएको दुई वर्षपछि भुटानमा पहिलो संसदीय निर्वाचन भएको थियो। भुटानको जनसंख्या करिब आठ लाख ६ भने करिब ५ लाख मतदाता छन्।