images
images

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली बिहीबार सार्वजनिक हुँदैछ ।

हिजो बुधबार उम्मेदवारी दिएकाहरूको मनोनयपत्रमाथि जाँचबुझ भएको र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिएका कारण आज नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका रहेको जनाइएको छ ।

आज नामवली प्रकाशन भएपछि आयोगले उम्मेदवारहरुलाई नाम फिर्ताको समय दिनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगको निर्धारण गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

यस्तै, शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए ।

राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो ।