images
images

गृहमन्त्री द्वारा मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रश्ताव

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रश्ताव गरेका छन्।

मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताए।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए।

यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए।

उनले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोहोर्‍याए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले हामी सकारात्मक दिशामा अघि बढिरहेका छौँ। तर हामी आत्माआलोचित हुँदै भनिरहेका छौँ कि हामीले परिवर्तनमा अन्तरनिहित निर्देश अनुसारको जनताको अपेक्षा र आजको आवश्यकताअनुसार विकास र समृद्धिको गतिलाई जुन अनुपात दिनुपर्दथ्यो, त्यो दिन सकिराखेका छैनौँ।’

हामीले पहिला गर्दै आएको कामलाई निरन्तरता दिन हिनताबोध जस्तो भइराखेको र त्यसो गर्न नहुनेमा उनको जोड थियो। बरु त्यस्ता कामहरूलाई प्रोत्साहित गर्ने वातावरण बनाउनमा सरकारले सहगोग गर्ने उनको भनाइ थियो।

उनले भने, ‘त्यसका निम्ति यो हस्तकलाको चाहीँ उत्तराधिकारीहरु निर्माण गर्न, हस्तकलाकर्मीहरु निर्माण गर्न, कलाकर्मीहरु निर्माण गर्न हामीले ध्यान दिनुछ। त्यसका लागि ट्रेनिङ इन्सिच्युटहरुको निर्माण गर्ने कुरा तपाईहरुले गर्नुभएको छ। त्यसबारेमा पनि हामीले छलफल गर्नेनै छौं। हुनतः तपाईहरुले विश्वविद्यालयकै कुरा गर्नुभएको छ। त्यसबारेमा पनि छलफल गरौंला। यो हस्तकला निर्माण विकास मन्त्रालय नै बनाऊ भन्नुभएको रहेछ। यो मन्त्रालय नै थप्ने कुरामा त अहिले जान मिल्छ जस्तो मलाई लाग्दैन। मन्त्रालय त बरु घटाउनुपर्छ कि जस्तो लाग्छ मलाई।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए।

उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए।