images
images

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन् : अध्यक्ष केसी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाउनुभएको छ ।

शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको बताउनुभयो । उहाँले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पार्नुभयो । उहाँले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरुले गरेको दाबी गर्नुभयो ।

अध्यक्ष केसीले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराएपनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताउनुभयो । उहाँले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताउनुभयो ।

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू शुरु भएको एनआरएनएले जनाएको छ । गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुनेगरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिव १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ ।

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको बताएको छ । गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेस प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको जनाएको छ ।