images
images

नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सकिने बताएका छन् ।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मेन्ज्ये गाउँमा ओग्र्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले एक सयदेखि तीन सय शय्यासम्मको अस्पतालमा नर्स र पारामेडिक्स पढाउने तथा तीन सयभन्दा बढी शय्याका अस्पतालमा डाक्टर पढाउने गरी योजना बनाइरहेको बताए।

कक्षा १२ सम्मको पढाइलाई  निःशुल्क गर्ने तथा आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने उनको भनाइ छ। स्वास्थ्य क्षेत्रमा ३२ हजारको सङ्ख्यामा नयाँ दरबन्दी आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले उक्त जनशक्ति व्यवस्थापनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको बताए।

सिन्धुपाल्चोकवासीलाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने पनि उनले स्पष्ट पारे। कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीबाट हेलम्बुसम्म जाने बाटोको कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै उक्त सडकखण्ड निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक समन्वय र सहयोग हुन नसकेको गुनासो गरे।