images
images

वैदेशिक रोजगार व्यवसायीले श्रम मन्त्रालयमा बुझाए १९ बुँदे ज्ञापनपत्र

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरुमा सरकारी निकायहरुबीच तालमेल नहुँदा नतिजा आउन नसकेको बताएका छन् ।

आइतबार श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरुका लागि आवश्यक सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए । उनले भने,‘सरकारी निकायसँग आवश्यक समन्यव नभएका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उठाएको मुद्दाहरुको प्रभावकारी नतिजा आउन सकेको छैन । व्यवसायी संघले लामो समयदेखि जरुरी मुद्दाहरु उठाइरहको छ तर त्यसको नतिजा आउन सकिरहेको छैन । हाम्रो नीति एकातिर र काम अर्कैतिर भयो । पपुलिस्टिक भयो तर रियालिस्टिक भएन ।’

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन लिने गरिएको सेवा शुल्क चाँडै निर्धारण गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई छ । सरकारले निर्धारण गरेको सेवाशुल्कका विषयमा थप छलफल गर्नुपर्ने साथै कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा सबैपक्षबिच घनिभुत छलफल गर्नुपर्ने उनको धारणा थियो ।

ज्ञापन पत्र बुझ्दै श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले १९ बुँदे मागकाबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै उक्त विषयमा छलफल अगाडी बढाउनुपर्ने बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील व्यवसायीहरुले लिने सेवा शुल्क र वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षाको लागि नेपाल व्यवसायी संघले उठाएका मागहरुप्रति मन्त्रालय सकारात्मक रहेको बताए ।

उनले भने, ‘आज वैदेशिक रोजगारको संवेदनशीलता, कामदारहरुको सुरक्षा, हक, अधिकार, सामाजिक सुरक्षामा मन्त्रालय गम्भिर छ । वैदेशीक रोजगारमा अहिले भइरहेको बेथिति हटाउनका लागि संघले चालेको भूमिका सराहनीय छ । ’ फ्रि-भिसा फ्रि-टिकटका बारेमा बुझाई र सेवा शुल्कबारेको बुझाइमा एकरुपता हुन नसकेको उनको भनाई छ ।

वैदेशिक रोजगारसम्बन्धी कानून शंसोधनका लागि आफूहरुले छलफल अगाडि बढाएको भन्दै केही दिन भित्रमै टुंगोमा पुग्ने विश्वास दिलाए ।