images
images

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा हुन्छ: वर्षमान पुन

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरूले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरे।

हरेक पटकका निर्वाचनमा आफूहरूले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो।

‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रूपमा हामीलाई घाटा या नाफा के छ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’

राष्ट्रियसभा निर्वाचनअघिका चुनावहरूमा पनि यस्तै हुँदा कांग्रेसले गुटबन्दीलाई कारण देखाउँदै आएको पुनले बताए।

नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको उनकाे भनाइ छ।