images
images

प्रधानमन्त्री दाहाल भन्छन्ः करिब ३ हजारलाई सहिद घोषणा गर्दैछौँ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन्।

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै सहिद घोषणा गर्नका लागि मन्त्रिपरिषद्‌बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

त्यस क्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई सहिद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासनसमेत दिए।

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको पनि बताए। सरकारले जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो।

उनले भने, ‘तपाईंहरुलाई जानकारी गराउन चाहन्छु, झन्डै ३ हजार छुट भएकाको सहिद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ। र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ।’

प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताए।