images
images

नितिश कुमारले लिए नवौं पटक बिहारको मुख्यमन्त्रीको सपथ

जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले नवौं पटक बिहारको मुख्यमन्त्रीको सपथ लिएका छन्। उनलाई आइतबार साँझ राज्यपाल राजेन्द्र आर्लेकरले सपथ गराए।

उनी भारतीय राष्ट्रिय कांग्रेससहितको इन्डिया गठबन्धन छाडेर भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)मा सामेल हुँदै नवौं पटक बिहारको मुख्यमन्त्री बनेका हुन्।

उनले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएको केही घण्टामै उनी पुनः मुख्यमन्त्री बनेका हुन्।

२४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन्। विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर)का चार र सीपीआई (एम) र भाकपाको एक/एक सदस्य छन्।