images
images

जर्मन महिलाको मृत्यु लडेर भएको हुनसक्ने प्रहरीको अनुमान

काठमाडौँ– ललितपुरको नागबहालस्थित ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन नागरिक ५७ वर्षीया अडेलहेड स्नेकनवर्गको मृत्यु लडेर भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले उनी कोठामा लडेको अवस्थामा भेटिएको र टाउकोको पछाडि चोट लागेको हुँदा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

‘अहिलेलाई चाहिँ लड्दाखेरी पछाडि टाउकोमा चोट हुन गएको कारणले गर्दाखेरी जुन ब्लिडिङ हो, त्यो कारणले मृत्यु भएको हुनसक्छ कि भन्ने हामीले प्रारम्भिक अनुमान गरेका छौँ,’ एसएसपी खनालले भने।

साथै ती महिला मिर्गौलाको बिरामी भएको र नियमित डायलासिस गराइरहेको खुल्न आएको उनले बताए। उनका अनुसार महिलाको नाडीमा क्यानुला रहेको साथै औषधिसमेत भेटिएको छ।

उनले भने, ‘मृतक चाहिँ पहिलादेखि नै किड्नीको बिरामी र डायलासिस गरिरहने भन्ने पनि खुल्न आएको छ। अहिले पनि मृतकको नाडीमा क्लानुला लगाएको अवस्थामा छ। उसले प्रयोग गर्ने औषधिहरु पनि छन्। त्यसबाट पनि पुष्टि हुन्छ।’

उनी नेपाल बसेको करिब १४/१५ वर्ष भइसकेको र काभ्रेमा एउटा रिसोर्ट पनि सञ्चालन गरिरहेको एसएसपी खनालले बताए।

उनले भने, ‘उसको हिस्ट्रीको बारेमा बुझ्दाखेरी ऊ यहाँ यो होटलमा दुई वर्षदेखि बसेको भन्ने खुल्न आएको छ। नेपाल बसेको १४/१५ वर्ष भइसकेको र काभ्रेमा एउटा रिसोर्ट पनि उसले सञ्चालन गरेको भन्ने बुझिएको छ। कह‍िले उता रिसोर्टमा बस्ने, कहिले यहाँ आएर बस्ने भन्ने खुलेको छ।’

सोमबार दिउँसो तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। तर शंकास्पद कुरा केही नभेटिएको खनालको भनाइ छ। थप कुरा अनुसन्धान र पोष्टमार्टम रिपोर्टबाट थाहा हुने उनले बताए। ती महिलाको पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।