images
images
images

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीको सम्पत्ति छानबिन गर्न सिफारिस

अध्यागमनका अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोको सम्पत्ति छानबिन हुने

भिजिट भिसासम्बन्धी ‘सेटिङ’मा संलग्न अध्यागमनका कर्मचारीको सम्पत्ति पनि छानबिन हुने भएको छ । अध्यागमन विभागका नौ अधिकृतको सम्पत्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गर्न प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नौ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको हो । जसमध्ये नौ अधिकृतमाथि अख्तियारबाट र तीनजना बिचौलियालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट थप अनुसन्धान गर्न सिफारिस भएको हो । सोही सिफारिसअनुसार अभियोग दाबी लिई बुधबारसम्ममा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए । 

अध्यागमन अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोको सम्पत्ति छानबिन गर्न सिफारिस भएको हो । उनीहरूमध्ये खड्का थुनामा छन् भने अन्य फरार छन् । खड्काको खातामा सेटिङको पैसासमेत भेटिएको छ । उनले श्रीमतीको खातामा समेत पैसा लिने गरेको अनुसन्धानमा पुष्टि भएको छ । अन्य अधिकृतहरूसमेत लामो समयदेखि विमानस्थलमा कार्यरत रहेको र उनीहरूले यो धन्दाबाट अकुत सम्पत्ति आर्जन गरेको प्रहरी निष्कर्ष छ । एक दिनमै भिजिट भिसामा कर्मचारीलाई बिचौलियाले एक करोड रुपैयाँसम्म बुझाउने गरेको अनुसन्धानमा देखिएको छ ।

१० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको हो । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी पनि प्रहरी थुनामा छन् । उनीहरूमध्ये विनोद कार्की, पदम लामा र मनोज लामाको सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले सिफारिस गरेको छ ।  

प्रहरी अनुसन्धानमा विमानस्थलमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चल्दै आएको देखिएको छ । तल्लो तहका कर्मचारीले बिचौलियासँग पैसा लिएर माथिल्लो तहका कर्मचारीलाई बुझाउँदै आएका थिए । विमानस्थलका सबैजसो कर्मचारी सेटिङमा संलग्न देखिएको, तर बलियो प्रमाण भएकालाई मात्र प्रतिवादी बनाउन लागिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृत बताउँछन् ।

अधिकृत मोक्तान बारम्बार विवादमा 
शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत छायालाल मोक्तान यसअघि पनि विमानस्थलमा पटक–पटक विवादमा परेका अधिकृत भएको खुलेको छ । यसअघि विमानस्थलमै कम्तीमा दुईपटक उनले अन्य निकायसँग झगडा गरेको विमानस्थल स्रोत बताउँछ ।

गत २६ पुसमा टर्मिनल ड्युटी अफिसर गोपाल घिमिरेमाथि समेत उनले कुटपिट गरेका थिए । डिपार्चर कक्षमा यात्रुहरूको भिड भएको विषयमा कुरा गर्न जाँदा सुरुमा हात हालेको र पछि माफी मागेको विमानस्थल स्रोत बताउँछ । त्यसअघि पास शाखाका कार्यरत कर्मचारी नारायण कोइरालासँग उनको झगडा भएको थियो । ‘म अध्यागमनको अधिकृत हुँ, मलाई पास नदिने’ भन्दै उनले झगडा गरेको थिए ।

शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा उनले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो । त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ ।

पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । कर्मचारीहरूले भने प्रहरीले कुटेको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा छानबिन समिति बनाएको छ । समितिले मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रहरीले भिजिट भिसा सेटिङमा अध्यागनका कर्मचारीमाथि मुद्दा प्रक्रिया अघि बढाइरहेका वेला विमानस्थलमा प्रहरी र अध्यागमन कर्मचारीबीच विवाद बढेको हो।नयाँपत्रीका