images
images

अमेरिकबाट भैरबको मुकुण्डो र दुई वटा मूर्तिहरु नेपाल फिर्ता

काठमाडौं । अमेरिकमा रहेका दुई थान भैरबको मुकुण्डो र दुई वटा मूर्तिहरु नेपाल फिर्ता भएका छन् ।

तामाबाट निर्मित १६औं शताब्दीको भैरवको मुकुण्डो तथा १६औं शताब्दीकै उमा-महेश्वरको प्रस्तर मूर्ति र १७औं शताब्दीको दुर्गाको प्रस्तर मूर्ति बुधबार पुरातत्व विभागलाई हस्तान्तरण गरिएको हो ।

भैरबको दुई मुकुण्डो दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर अमेरिकाको ड्यालास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए । यस्तै, उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरबाट सन् १९८० को दशकमा हराएको थियो भने दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटबाट चोरी भएर अमेरिका पुगेका थिए ।

न्यूयोर्कस्थित नेवाः गुथीको आर्थिक सहयोगमा न्यूयोर्कको नेपाली बाणिज्य दूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्ट लगायत संस्थाहरुको पहलमा ती मूर्ति र मुकुण्डो नेपाल ल्याइएको हो । अमेरिकाबाट पुरातात्विक महत्वका ७२ थान कलात्मक वस्तु नेपाल ल्याईसकेको विभागले जनाएको छ ।