images
images

पत्रकारिता क्षेत्र समस्यामा रहेका बेला नेताहरुले साथ दिएनन्-काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं– प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्र समस्यामा परिरहेका बेला राजनीतिक नेतृत्वले साथ नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको, तर पत्रकारिता क्षेत्र समस्यामा पर्दा साथ नदिएको उनको भनाइ छ। 

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले अहिले पत्रकारिता क्षेत्र साँच्चिकै समस्यामा परेको बताए। राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएको भए पनि यो क्षेत्रको विकास र सम्बर्धनमा भने बेवास्ता गरेको बस्नेतको भनाइ छ।

बस्नेतले पत्रकारिता नजोगिए सरकार र राजनीति समेत नजोगिने जिकिर गरे।  ‘पत्रकारिता जोगिए मात्रै राजनीति जोगिन्छ, सरकार पनि जोगिन्छ,’ बस्नेतले भने।

सरकारले अहिले कानुन निर्माणको तहमा कतिपय गम्भीर खालका प्रावधानहरु पत्रकारितालाई समस्या पार्ने गरी ल्याउन लागेको भन्दै बस्नेतले यस्ता गतिविधि सरकारी तहबाटै हुन लागेमा सबै सजग बन्नुपर्ने बताए।