images
images

पृथ्वीसुब्बा गुरुङको प्रस्तावः संघमा १२ वटा मन्त्रालय मात्रै राखौँ

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गरेका छन्। गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्ने धारणा राखे।

संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेका २५ वटा मन्त्रालय कटौती गरेर १२ वटामा झार्नुपर्ने उनको तर्क थियो। मंगलबार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभागहरु कटौती गर्न र जिल्ला समन्वय समिति हटाउनुपर्नेसमेत बताए।

प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभागहरु हटाएर त्यहा कार्यरत कर्मचारीहरु तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्नसके संघीयता कामकाजी हुने दाबीसमेत गरे। उनले संघीयतामा धेरै काम भए पनि त्यसको प्रचार हुन नसकेको दाबी गरे।

उपमहासचिव गुरुङले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि पनि संघीय सरकारले तत्काल जनशक्ति र प्रहरी प्रशासनको आवश्यक व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताए।