images
images

भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

चितवनका दुई स्थानीय तह बिचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज माडीमा एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महत्तोले दश बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन्।

दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ। भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडिएका स्थानीय तह हुन्। यसलाई चितवन राष्ट्रिय निकुञ्जले सीमा छुट्टाएको छ।

यी स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन्। त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवा मूलक कार्यमा संयुक्त योजना बनाउने लक्ष्य लिइएको दाहालले बताइन्।

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ। भरतपुरमा घुम्न आउने पर्यटकहरु माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताइन्। उनले माडी र भरतपुरको विकासका लागि भगिनी सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ।

यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षा, लगायतका सेवामूलक कामहरूमा सहकार्य गर्ने बताइएको छ।