images
images

सरकारलाई विश्वप्रकाशको प्रश्नः रुससँग वार्ता गर्नसक्ने क्षमता छ कि छैन?

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कूटनीतिक पहल र संवाद गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदूतलाई बोलाएर संवाद गर्नुबाहेकको पहल गर्न सकेको छ कि, छैन? भन्दै प्रश्न गरे।

उनले कुटनीतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्नसक्ने स्तरमा छ कि छैन? भन्ने प्रश्न गरे। उनले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताए।

उनले नागरिकलाई सरकार छ भन्ने महसुस गराउन सरकारले रसियामा गएर सैनिक भई बसेका नेपालीको उद्धार गर्ने कुरा गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

उनले ६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ कि छैन? भन्दै प्रश्न गरे।