images
images

भरतपुर भ्रमण वर्षको तयारी अन्तिम चरणमा :प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन । भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएको छन् । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ ।
भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरु, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उनका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको र्‍याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ ।
विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताए । उनले भनिन्, “भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ ।”
कार्यक्रमको घोषणापूर्व र उद्घाटनसत्र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म साङ्गितक प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यकोसमेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो ।
भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ । समितिको शनिबार बैठक बसेको थियो । प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य रहेका छन् ।
भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदैछ । महानगरका उपप्रमुख अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।
यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उहाँले बताए । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ ।