images
images

बालकुमारी घटनाः प्रतिवेदन अध्ययन गर्न फेरी अर्को समिति गठन

काठमाडौं, १४ फागुन । बालकुमारी घटनाको छानविनका लागि गठित जाँच बुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न सरकारले समिति गठन गर्ने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन अध्ययनका लागि कानुनमन्त्री धनराज गुरुङ र उर्जामन्त्री शक्ति बस्नेतको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले प्रतिवेदन अध्ययन गरेर आगामी फागुन २० गतेभित्र सरकारलाई सिफारिस गर्ने सरकारकी प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

‘बालकुमारी घटनाका सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८०/११/२० भित्र सिफारिस गर्ने गरी उर्जा मन्त्री र कानुन मन्त्री रहने समिति गठन गर्ने निर्णय भएको छ,’– मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भनिन् ।

दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको प्रतिवेदनको निश्कर्ष छ । मन्त्री ज्वाला दोषी देखिँदा पनि कारबाही नगरेकार र उनले नैतिकताको आधारमा राजीनामासमेत नदिएको भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरोध गरिरहेका छन् ।

संसद्मा मन्त्रीको राजीनामा बारे उठेका प्रश्नको जवाफ दिन भन्दै सभामुख देवराज घिमिरेले आज चौथो पटक रुलिङ गरेका थिए । तर, सरकारले संसद् छलेर प्रतिवेदन अध्ययनका लागि फेरि अर्को समिति गठन गरेको हो ।