images
images

संसद भवनमा सुरक्षा चुक भएको भन्दै गृहमन्त्री आक्रोशित, भने– आइन्दा यस्तो नहोस्

काठमाडौँ – संसद भवनको सुरक्षामा चुक भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ आक्रोशित भएका छन्।

संसद भवनमा लघुवित्त पीडितहरु प्रवेश गरेको घटनाबारे सोमबार बेलुका गृह मन्त्रालयमा भएको सुरक्षा प्रमुखहरुसँगको बैठकमा गृहमन्त्री श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन्। उनले आगामी दिनमा यस्तो गल्ती नगर्न चेतावनीसमेत दिएको स्रोतले बतायो।

गृहमन्त्री श्रेष्ठलाई उद्धृत गर्दै स्रोतले भन्यो,’आज संसद भवनमा निकै ठूलो सुरक्षा चुक भयो। आइन्दा यस्तो नहोस्।’

सोमबार दिउँसो लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेका थिए। सोही विषयलाई लिएर गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाएका थिए।

बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका सिडिओ जितेन्द्र बस्नेत सहभागी थिए। त्यसक्रममा गृहमन्त्री श्रेष्ठले निषेधित क्षेत्रभित्र उक्त घटना कसरी भयो? भन्दै प्रश्न गरेका थिए।

जवाफमा सुरक्षा निकायका प्रमुखहरुले लघुवित्त पीडितहरुको पूर्वनिर्धारित कार्यक्रम नभएकोले सुरक्षामा केही कमजोरी भएको बताएका थिए।

संसद भवनको गेटमा खटिएका सुरक्षाकर्मीहरु सानो संख्यामा रहेकोले उनीहरु गेट धकेलेर भित्र पसेका थिए। संसद भवनभित्र प्रवेश गर्ने अधिकांश लघुवित्त पीडितहरु महिला भएकोले पनि सुरक्षाकर्मीले रोक्न असहज भएको जवाफ सुरक्षा प्रमुखहरुले गृहमन्त्रीलाई दिएका थिए।