images
images

रोजगारीका लागि जापान जाने बाटो खुल्यो, दक्ष श्रमिक पठाउन मन्त्रलायले ल्यायो कार्यविधि [कार्यविधि सहित ]

मन्त्रालयले जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८०  मगलबार जारी गरेसगै संस्थागत रूपमा माग ल्याउन र जापान पठाउनका लागि बाटो खुलेको हो।

कार्यविधिमा जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ पठाउने म्यानपावर कम्पनीसँग भाषा र सिपका लागि प्रचलित मापदण्ड बमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र या पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरी लिएको तालिम केन्द्र भएको हुनुपर्ने उल्लेख छ।

भाषा प्रशिक्षण तालिम केन्द्रमा जापानी भाषा पढाउने सम्बन्धमा जापानी भाषा प्रशिक्षणको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुई जना भाषा प्रशिक्षक भएको हुनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

नेपाली इजाजतपत्र प्राप्त संस्थाले एसएसडब्लू प्रणालीको माग सङ्कलन, प्रमाणीकरण तथा सहजीकरण एवं नेपाली श्रमिकका लागि आवश्यक कल्याणकारी सेवा तथा कार्यहरू गर्ने प्रयोजनका लागि जापानमा कानुनी रूपमा दर्ता भएको आफ्नै सम्पर्क शाखा वा त्यस प्रकारको काम गर्नका लागि अनुमति प्राप्त संस्था ‘रजिस्टर्ड सपोर्ट अर्गनाइजेसन’ सँग सम्झौता गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।

यस कामका लागि नेपाली श्रमिक तथा नेपाली इजाजतपत्र प्राप्त संस्थासँग कुनै पनि शुल्क नलिने सम्झौता भएको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ। कार्यविधिमा जापानी रोजगारदाता स्वयम्ले वा भाषा तथा सिप तालिम प्रदायक सङ्घ संस्थाले नेपालमै आएर भाषा तथा सिप तालिम प्रदान गर्ने भएमा भाषा तथा सिप तालिम दिन सक्ने आफ्नै पूर्वाधार भएको वा नेपालस्थित जापानी भाषा तथा विशिष्टीकृत सिप प्रशिक्षण केन्द्र पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरी लिएको हुनुपर्ने उल्लेख छ।

एसएसडब्लू प्रणाली अन्तर्गत रोजगारीका लागि जापान जान इच्छुक नेपाली नागरिकले जापान सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन भएको जापानी भाषा परीक्षा र पेसागत सिप परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकको विवरण इजाजतपत्र प्राप्त संस्थाले विभागलाई उपलब्ध गराउने र यस्तो सूची विभागले अद्यावधिक गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले कार्यविधिमा जापानमा रोजगारीका लागि पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनिएकोमा त्यसै अनुसार हुने उल्लेख छ। म्यानपावरले उठाउने सेवा शुल्क मन्त्रालयले तोकेबमोजिम हुनेछ।

नेपालको म्यानपावर एजेन्सी तथा त्यसको जापानस्थित सम्पर्क शाखा वा जापानस्थित रजिस्टर्ड सपोर्ट अर्गनाइजेसनले श्रमिकबाट शुल्क लिन नपाउने उल्लेख भए पनि कार्यविधिमा अन्य शुल्क मन्त्रालयले तोक्ने उल्लेख गरिएको छ।

एसएसडब्लू के हो?

एसएसडब्लू जापानले सन् २०१९ को एप्रिल महिनादेखि सुरु गरेको कामदार भित्र्याउने प्रणाली हो।

उक्त प्रणाली अन्तर्गत जापानमा निर्दिष्ट दक्षता भएका व्यक्तिहरूले सीमित समय बसोबासको अनुमति सहितको भिसा पाउने जापानी परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार एसएसडब्लू प्रणाली अन्तर्गत विभिन्न १४ वटा क्षेत्रमा कामदारहरू जान पाउँछन्।

ती क्षेत्रमा नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योग, औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा एलेक्ट्रोनिक्स उद्योग, निर्माण, पानी जहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मतसम्भार, उड्ड्ययन, होटलसम्बन्धी उद्योग, कृषि, मत्स्यपालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन र खाद्य सेवा उद्योग रहेका छन्।

 

उक्त प्रणाली अन्तर्गत जापान जाने कामदारहरूले हरेक वर्ष, हरेक ६ महिना वा हरेक ४ महिनामा नवीकरण गरिनेगरी बढीमा ५ वर्षसम्म बस्न पाउने जापानको परराष्ट्र मन्त्रालयको विवरणमा उल्लेख छ।

जापानका काम गर्नका निम्ति दक्ष हुनु जरुरी रहेको र त्यसका लागि प्राविधिक इन्टर्स प्रशिक्षण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

जापानी परराष्ट्र मन्त्रालयले भाषाको ज्ञानबारे भनेको छ, “दैनिक जीवन र काम गर्ने ठाउँमा प्रयोग गरिने जापानी भाषामा निपुण हुनुपर्नेछ। भाषिक दखल परीक्षाद्वारा पुष्टि भएको हुनुपर्छ।”

यसरी कामदारका रूपमा जापान जानेले स्थायी रूपमा उतै बस्ने र आफ्ना परिवारका सदस्यलाई लान पाउने छैनन्।

यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्

  • नर्सिङ स्याहारसुसार
  • भवन सरसफाइ व्यवस्थापन
  • मेसिनका पार्टपुर्जा र औजार उद्योग
  • औद्योगिक मेसिनहरू उत्पादन गर्ने उद्योग
  • इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि
  • निर्माण
  • पानीजहाज निर्माण र पानीजहाज मेसिनरी
  • अटोमोबाइल मर्मत–सम्भार
  • उड्डयन क्षेत्र (हवाईजहाज)
  • आतिथ्य सत्कार (होटेल)
  • कृषि
  • माछापालन तथा अकुवाकल्चर
  • खाद्य र पेय पदार्थ उद्योग
  • खानपान व्यवसाय (रेस्टुरेन्ट)
  • जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० 

  • जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०