images
images

लोसपाले बोलायो फागुन २७ देखि २९ गतेसम्म लाई केन्द्रीय समिति बैठक

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति बैठक यही फागुन २७ देखि २९ गतेसम्म बस्ने भएको छ।

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ । यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो ।

ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ ।

समसामयिक विषयमा छलफल गर्न पार्टीको बैठक बस्न लागेको नेता मनिष मिश्रले जानकारी दिए। बैठक फागुन २७, २८ र २९ गते महोत्तरीको बर्दिबास्थित पावन मिथिला पार्टी प्यालेसमा बस्नेछ।

हालैमात्र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेका छन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतीघर-बानेश्वरमा निषेधित क्षेत्र तोड्ने कार्यक्रम सुरू गरेका छन्।