images
images

नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले कायम राख्यो फाइनल सम्भावना

काठमाडौँ – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ। फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। जवाफमा नामिबिया निर्धारित २० ओभरमा १ सय ७७ रनमा समेटिएको थियो।

नामिबियाका लागि जेजे स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जन फ्र्यानलिकले ३७ रन बनाए। त्यस्तै, जेन ग्रीनले २३ रन तथा रुवेन ट्रम्पलम्यानले १४ रन बनाएका थिए। नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले ३७ बलमा ५५ रनको अविजित अर्धशतकीय इनिङ खेले। त्यस्तै, गुल्सन झाले २६ रन बनाउँदा आरिफ शेखले ३१ रन तथा अनिल साहले २३ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा रोहित पौडेलले १० रन र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए।

नामिबियाका लागि बेन सिकंगोले ३ विकेट लिँदा ज्याक ब्रसेलले २ तथा रुवेन ट्रम्पलम्यान, जन निकोल लोफ्टी–इटन र बर्नार्ड स्कल्जले समान १–१ विकेट लिए।