images
images

परराष्ट्रमन्त्री मन्त्री साउद को फिनल्यान्ड प्रस्थान गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ। फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आइतबार राति प्रस्थान गर्ने कार्यक्रम थियो।

सो कार्यक्रम भने मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुँदैछ। कार्यक्रममा मन्त्री साउदले सम्बोधन गर्ने पनि तय भएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री साउद प्रस्थान गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ।

मन्त्रिपरिषद्‌मा हेरफेरको चर्चाबीच मन्त्री साउदको भ्रमण स्थगित भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेको भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा सहमत हुँदा हेरफेर हुन सकेको थिएन।

पछिल्ला दिनमा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा दाबी गरेपछि कांग्रेससँग सम्बन्ध र गठबन्धनमा तिक्तता आएको चर्चा भइरहेको थियो। तर गठबन्धनमा भएको सहमति अनुसार आफ्नो प्रधानमन्त्री बन्ने पालो सुनिश्चित गर्ने उद्देश्यले देउवाले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् हेरफेरमा ‘ग्रिन सिग्नल’ दिइसकेको कांग्रेस नेताहरूको भनाइ छ।