images
images

नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बस्ने

काठमाडौं- नयाँ सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ।

नेकपा एमालेसहितकाे गठबन्धनका शीर्ष नेताहरूकाे दाेस्राे चरणकाे बैठकमा शक्ति बाँडफाँटको टुंगो लगाइने बताइएकाे छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा पहिलाे चरणकाे बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लागेकाे थियाे।

कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाले नेकपा एमालेसँग सहकार्य गरी सरकार चलाउने भएका छन्।

जसमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि रहेका छन्।

आजै प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रपति कार्यालय शितल निवास पुगेर  मन्त्रीलाई शपथ गराउनेबारे जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी दिएका छन्।

प्रधानमन्त्री दाहालले आज  बिनाविभागीय मन्त्री बनाउन लागेको कुरा राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।

नवनियुक्त मन्त्रीहरूको आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ। एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने,  जसपाबाट उपेन्द्र यादव र माओवादीबाट वर्षमान पुन मन्त्रीकाे रूपमा जाने तयारी छ।

एमालेबाट विष्णु पाैडेल उपप्रधानमन्त्रीकाे रूपमा सरकारमा जाने अथवा नजाने भन्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय लिन बाँकी छ। स्राेतका अनुसार यसबारे पार्टीमा आन्तरिक छलफल भइरहेकाे छ।