images
images

ई-सेभेन भिसामा र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय भएको छैन : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई-सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गर्नुभएको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले पछिल्लो समय ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामार्फत पनि नेपाली दक्ष कामदार पठाउने सम्झौता भएको भन्नेकुरा सत्य नभएको दाबी गर्नुभयो । उहाँले ई सेभेन भिसामार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल समेत अघि नबढाएको बताउनुभयो । उहाँले ई सेभन भिषाका विषयमा सरकारको संगलग्नता नभएको भन्दै अध्ययनको लागि कार्यदल गठन भएको त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने बताउनुभयो ।

मन्त्री अर्यालले कोरियाले ई सेभेन भिसा अन्तर्गत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने विषयमा सत्यता नभएको जिकिर गर्नुभयो । उहाँले नेपालले ई सेभेन भिषा नेपाली कामदार पठाउने विषयमा सरकार जानकार नभएको बताउनुभयो । उहाँले रोजगारीका लागि इजरायल बिटुबि मोडलमा पठाउन दिने निर्णय नभएको पनि बताउनुभयो ।

मन्त्री अर्यालले उक्त विषयमा निर्णय भएपनि कार्यदलको अध्ययनको विषय भएकाले तत्कालको लागि रोकिएको बताउनुभयो । उहाँले इजरायल र नेपाल सरकारबीच तथा नेपाल र इजरायलको मेनपावरबीच बिटुबीमा काम गर्नेगरी कुुनै सम्झौता नभएको बताउनुभयो । उहाँले जापानमा पनि त्यस्तो खालको सम्झौता नभएकाले हल्लाको भरमा यस्तो काम भइरहेको थाहा भए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

मन्त्री अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिनेगरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न आफूले निर्देशन दिएको बताउनुभयो । मन्त्री अर्यालले आगामी शुक्रवार देखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न गरिने बताउनुभयो । उहाँले श्रम स्वीकृतिमा भएको ठूलो भ्रष्टाचार रोक्नको लागि भएपनि वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन लागिएको बताउनुभयो ।

मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टा भित्रमा श्रम स्वीकृति दिनसक्ने गरी प्रणाली सुधार गरिने बताउनुभयो ।