images
images

रविको राजीनामा मागेको कांग्रेसलाई प्रचण्डको जवाफ– सहकारी ठगीमा संलग्नता देखिएन

सहकारी ठगी प्रकारणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार जवाफ दिएका छन् । सहकारी ठगीमा लामिछानेको संलग्नता नदेखिएको प्रचण्डले प्रष्ट गरे ।

सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले पछिल्लो समय लगातार संसद्मा आवाज उठाउँदै आएको थियो । मंगलवार पनि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको थियो ।

मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सहकारी ठगीमा लामिछानेको संलग्नता पुष्टिको आधार नभेटिएको बताएका हुन् । ‘हालसम्मको अनुसन्धानले उहाँ (रवि लामिछाने) सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भुमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँकतै जोडिएको देखिएको छैन,’ प्रचण्डले संसद्मा भने ।

ADVERTISMENT

कांग्रेसले संसदमा पटकपटक कुरा उठाएपछि आफूले बुझ्दा लामिछानेको अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ब्रिफिङ आएको प्रचण्डले बताए ।

‘रवि लामिछानेको पार्टी सरकारमा सहभागी हुने चर्चा चलेपछि र सरकारमा सहभागि भएपछि यो विषयलाई संसद्को नियमित काम–कारबाही प्रभावित हुनेगरी उठाउनु कति जायज छ वा छैन भन्ने विषय स्वयं प्रतिपक्षी दलका माननीय सदस्यहरूले बुझ्नुपर्ने विषय हो भन्ने मैले ठानेको छु,’ उनले भने ।

सहकारी ठगीमा लामिछानेको संलग्नताबारे कांग्रेस महामन्त्री गगन थापाले सोमवार प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ चाहिने बताएका थिए । प्रचण्डको जवाफपछि प्रतिनिधिसभा बैठकमा नियमित प्रश्नोत्तर चलेको छ ।

सहकारी ठगीमा जोडिएका लामिछानेको राजीनामा माग गर्दै कांग्रेस भ्रातृ संगठनले सडकमा प्रदर्शन शुरूसमेत गरेका छन् ।