images
images

रेमिट्यान्स मात्र होइन दैनिक पाँच शव काठको बन्द बाकसमा आइपुग्छ नेपाल

काठमाडौं : वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठूलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन्। आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए, जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो।

यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ। वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन्।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीविनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन्। तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार ९०० भन्दा बढी श्रम स्वीकृति लिएर जाँदा पाँच शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन्।

बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ। यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली संघलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ।

गत आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका थिए। त्यो वर्ष औसतमा दैनिक दुई हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

विभागका अनुसार, चालु आव २०८०/८१ को साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा श्रम स्वीकृति लिई चार लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। चालु आव शुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ।