images
images

प्रजनन केन्द्रले पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकली कतारलाई उपहार दिने

चितवन । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात्ती उपहार पठाउने भएको छ ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका दौरानमा कन्जरभेसन कूटनीतिलाई जोड दिँदै नेपालका तर्फबाट दुई हात्ती उपहार दिन लागिएको हो ।

उपहार दिने सम्बन्धमा राजा थानीको राजकीय भ्रमणका क्रममा एमओई हुने र प्रक्रिया मिलाएर पठाउन एक डेढ महिना लाग्ने बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उपहार सम्बन्धमा वन मन्त्रालयमा एमओइ भएपछि मात्र कहिले पठाइने भन्ने सम्बन्धमा टुङ्गो लाग्ने बताए ।

“प्रजनन केन्द्रमा जन्मिएर हुर्काएका दुई हात्ती कतारलाई उपहार दिने कुरा एमओइ पछि मात्र कहिले पठाउने भन्न सकिन्छ” उनले भने । प्रजनन केन्द्रमा २०७५ असोज २३ मा पुजाकलीबाट जन्मिएकी रुद्रकली र २०७६ असोज ८ गते कोशीकलीबाट जन्मिएको खगेन्द्र प्रसादलाई कतारलाई उपहार दिन लागिएको हो । यी दुवै जङ्गली हात्ती रोनाल्डोका सन्तान हुन् ।

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले उपहार दिने हात्तीलाई सबै सीप सिकाइएको जानकारी दिए । पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकलीलाई आवश्यक सबै सीप सिकाइएको उनको भनाइ छ ।

२०४४ सालमा भारतबाट १६, म्यानमार २ र थाइल्याण्डवाट २ गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६२ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ५५ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएका मध्ये ४ वटाको मृत्यु भएको छ । प्रजनन केन्द्रमा हुर्काएर तालिम दिइएको हात्ती उपहार दिएको यो पहिलो हो ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र २ चितुवा उपहार दिई सकेको छ ।