images
images

आज १२ वैशाख : ८,९७० को ज्यान लिएको विनाशकारी गोरखा भूकम्प गएको नौं वर्ष पूरा

काठमाडौँ । नौं हजार जनाको ज्यान लिने र २२ हजारा धेरैलाई घाइते बनाउने बिनाशकारी गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

यो बिनासकारी भूकम्पबाट आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्ग छ । भूकम्पको कारण २२ हजार भन्दा धेरै नागरिक घाइते भए। भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर ध्वस्त हुँदा दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।

भूकम्पबाट ३२ जिल्लामा क्षति पुगे पनि गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो । गोरखा भूकम्पबाट करिब सात खर्ब छअर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो ।

गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभागले आज काठमाडौँमा बृहत् फोटो प्रदर्शनी गर्दैछ । खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा नौ वर्षअघिको गोरखा भूकम्पसहित डोटी, बझाङ र जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश गरिने विभागले जनाएको छ । फोटो प्रदर्शनीको माध्यमबाट जनतालाई भूकम्पप्रति सचेत रहन सन्देश दिने उद्देश्य छ ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो । विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।