images
images

पानी नपरेपछि झापामा बाजागाजासहित भ्यागुताको बिहे

भद्रपुर, झापा । लामो समयसम्म पानी नपरेर खडेरीको सामना गर्नु परेको भन्दै झापाको अर्जुनधाराका किसानहरुले शनिबार भ्यागुताको विवाह गरिदिएका छन् ।  वडा नम्बर २ का किसानले  भ्यागुताको बिहे गरिदिएका हुन् ।

विगतमा खडेरी परेको बेला भ्यागुताको बिहे गर्दा पानी पर्ने गरेको विश्वासका साथ यो वर्ष पनि भगवान् र प्रकृतिसँग पानी माग गरेर भ्यागुताको बिहे गरिदिएको स्थानीय किसान शिव भट्टराईले जानकारी दिनु भयो ।

नवनिर्मित मदन भण्डारी लोकमार्ग अन्तर्गत बेल्टार गाँजाबरी सडक खण्डमा पर्ने टाङटिङ खोलामा जोडी भ्यागुताको विवाह गरिएको हो । हिउँदको समयमा लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गरिदिने पुरानो प्रचलन रहेकाले यो वर्ष पनि भ्यागुताको बिहे गरिएको भट्टराईको भनाइ छ । लामो समयदेखि पानी नपर्नाले किसानको अन्नबाली सुकेर खेर जाने अवस्था सिर्जना भएको उहाँले बताउनु भयो ।

सयौँ स्थानीयको उपस्थितिमा भएको कार्यक्रममा बेहुली लिन दौरा सुरुवालमा सजिएको भाले भ्यागुतोलाई मोटरको सवारी गराउँदै बेल्टारबाट टाङ्टिङ खोलासम्म पुर्‍याइएको थियो बेहुला पक्षका किसान ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै खोलामा पुगेका थिए । बेहुली पक्षका किसानले भने धुमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदाबारी गरेका थिए ।  खोलाको किनारमा विवाहका लागि गेट निर्माण गरिएको थियो भने खोलामा मण्डप पनि तयार गरिएको थियो । विधिपूर्वक भ्यागुताको बिहे गरिएको थियो । बाजागाजा र नाचगानसहित भव्य रुपमा सम्पन्न भएको भ्यागुताको विवाहमा सहभागी भएकाहरूलाई खोलामा नै विवाह भोज खुवाइएको थियो ।

भ्यागुता करायो भने भगवान् इन्द्रकहाँ पानी पार्ने सन्देश पुग्छ र आकाशबाट वर्षा हुन्छ भन्ने विश्वास छ । सोही मान्यताका साथ विशेषगरी तराई क्षेत्रमा भ्यागुताको विवाह गराइदिने चलन छ । बिहे गराएपछि भ्यागुताको जनसङ्ख्या वृद्धि हुने मान्यता छ । भ्यागुता प्रायः अर्को साथी भयो भने मात्र कराउँछ । भ्यागुताको बिहे भएपछि उनीहरू सँगै बस्ने र सँगै कराउँदै हिँड्ने गर्छन् भन्ने जनविश्वास छ । भ्यागुताको आवाज स्वर्गका राजा इन्द्रसम्म पुगेपछि पानी पर्छ भन्ने विश्वास छ ।