images
images

गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताएकी छन्।

गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउनसके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको उनको भनाइ छ। मन्त्री शर्माले भनिन्, “गोरखापत्रलाई उज्वल, प्रतिस्पर्धी र अगुवा पत्रिका बनाउन नयाँ ढङ्गले सोच्नुपर्छ।”

उनले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताइन्। “विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ। नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पुर्‍याएको योगदान अविस्मरणीय रहेको छ”, उनले भनिन्।

सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गर्दै उनले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन्। आममानिसमा विस्तार हुँदै गएको सूचना पहुँच र सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने उनको भनाइ थियो।

“नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको गोरखापत्रको इतिहास जति गौरवशाली छ, वर्तमान र भविश्यमा पनि यसलाई कायम राख्नु चुनौतीको विषय हो”, उनले भनिन्, “बजारमा प्रतिस्पर्धीका साथै अगुवा पत्रिकाका रुपमा स्थापित गर्न, आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ।”

उनले संविधानसभाबाट जारी संविधानका उपलब्धिका बारेमा पनि सरकारी सञ्चारमाध्यमले पनि जनतासमक्ष लैजानुपर्ने बताउनुभयो। विगतमा राजनीति र पत्रकारिता क्षेत्र सँगसँगै भएर राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनपछाडि प्राप्त अधिकार कार्यान्वयनमा पनि सञ्चार जगतले खबरदारी गर्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गरिन्। उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ। कार्यक्रममा गोरखापत्र संस्थानका उत्कृष्ठ कर्मचारी राजेश चाम्लिङ राई, जुजुकाजी रञ्जित र सङ्गीता खड्का, उत्कृष्ट पत्रकार सरोज ढुङ्गेल, नायक पौडेल र मनोजरत्न शाही तथा २५ वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो।