images
images

आँखाको क्यान्सर भएकी तीन वर्षिया बालिकालाई ‘बुहारी ग्रुप’ को ५७ हजार सहयोग

पर्वत : सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत सामाजिक सेवामा सक्रिय हुँदै आएको ‘बुहारी ग्रुप अफ नेपाल’ ले आँखाको क्यान्सर भएकी एक बालिकालाई आर्थिक सहयोग गरेको छ।

विवाहित नेपाली महिलाहरूद्वारा ‘फेसबुक’ मा सृजना भएको समूहमा समेत आबद्ध रहेकी पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरकी सितादेवी पौडेलकी छोरी तीन वर्षिया बिहानी पराजुलीको उपचारमा सघाउनको लागि ‘ग्रुप’ मार्फत सङ्कलन भएको ५७ हजार रुपैयाँ सहयोग गरिएको समूहकी संयोजक लक्ष्मी तिवारीले बताइन्। बिहानीलाई उपचारको लागि हाल चितवनमा राखिएकोले समूहको चितवनमा रहेका सदस्यहरूले बिहानी रहेकै ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

बिहानीको उपचारको क्रममा चिकित्सकले आँखाको क्यान्सर पहिलो चरणमा रहेको समयमा नै उपचार पाएमा निको हुने बताएको आमा सिताले बताइन्। तर आफ्नो आर्थिक अवस्था निकै नाजुक हुँदा उनको उपचारमा समस्या भएपछि बिहानीको उपचारमा सघाउनको लागि ‘बुहारी ग्रुप’ मा अनुरोध गरेको उनको भनाइ छ।

‘सुरुमा नानी १७ महिनाको हुँदा आँखा छड्के हेर्न थालेपछि हिमालयन आँखा अस्पताल पोखरामा जाँदा रोग पत्ता लागेन। तिलगंगा काठमाडौँमा सी.टी स्क्यान गर्दा क्यान्सरको पहिलो स्टेज हो भन्ने थाहा भयो’, सिता भन्छिन्, ‘लगत्तै केमोथेरापीबाट उपचार थालियो। आर्थिक अवस्था कमजोर हुँदा नानीको उपचार परिवारबाट गर्न नसकिने भएपछि सहयोगका लागि अनुरोध गरिरहेका छौँ।’

बिहानीको उपचारमा अहिले मासिक करिब ५० हजार रुपैयाँ खर्च हुने गरेको बताउँदै आमा सिताले प्रत्येक २८÷२८ दिनमा केमो र लेजर गर्नुपर्ने जानकारी दिइन्। पहिलेको तुलनामा अहिले बिहानीको अवस्थामा करिब आधा सुधार भएको चिकित्सकले बताएको पनि सिता बताउँछिन्। आर्थिक अवस्थाले धानेमा र उनको निरन्तर उपचार गराउन सकेमा निको हुने विश्वास चिकित्सकले दिलाएको उनले बताइन्।

‘बुहारी ग्रुप अफ नेपाल’ ले आफ्नो ३० औँ सहयोग अन्तर्गत चितवनमा रहेका सदस्यहरूमार्फत सिताको घरमा नै पुगेर उक्त आर्थिक सहयोग गरेका हुन्। आफूहरूको समूहमा बिहानीको अवस्थाका बारेमा जानकारी गराएपछि समूहमा रहेका बुहारीहरूले आफ्नो खाजा खर्च कटाएर सक्दो सहयोग गर्दै जाँदा उक्त रकम सङ्कलन भएको समूहकी संयोजक तिवारीले बताइन्।

‘बुहारी ग्रुप’ ले केही दिन अगाडि मात्रै आफ्नो २९ औँ सहयोग अन्तर्गत अज्ञात रोगबाट पीडित पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी सपना घिमिरेलाई ७५ हजार रुपैयाँ सहयोग गरेको थियो। अज्ञात रोगले चुनौतीपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी उनको लागि पनि ‘ग्रुप’ मा नै सहयोग अभियान सञ्चालन भएको थियो।

गत २०७७ सालको असारमा ‘बुहारी’ हरूले सामाजिक सञ्जालबाट व्यवस्थित सेवाका लागि रुचि राखेर समूहको सुरुवात गरेका थिए। बागलुङका एक बच्चाको उपचारमा सघाउन आर्थिक सहयोग गरेपछि उनीहरूको सहयोगको अभियानले यात्रा तय गरेको थियो। हाल नेपालका ७७ ओटै जिल्लाहरू सहित प्रवासी बुहारीहरू पनि यो समूहमा जोडिएका छन्। नेपालमा कुनै समस्या परेको खबर हाल्दासाथ प्रवासी बुहारीहरूले पनि चासोका साथ लिने गरेका छन्।

अहिलेसम्म पर्वत, स्याङ्जा, बागलुङ, काठमाडौँ, पोखरा, बर्दियाका विभिन्न व्यक्तिहरू तथा अमेरिकामा बस्दै आएको एउटा नेपाली जोडीलाई पनि ‘बुहारी ग्रुप’ले सहयोग गरेका छ। यो समूहमा बुहारी अर्थात् विवाहित महिला मात्रै सदस्य छन्। जन्मदिन, श्राद्ध, विवाह, व्रतबन्ध, पास्नी लगायतको अवसर पारेर धेरै सदस्यहरूले आर्थिक सहयोग गर्ने गरेका छन्। कतिपयले वृद्धाश्रममा सहयोग गर्न खोजेको तर नजिकमा नभएकाले सहयोग गर्न नपाएको बताउँदै विशेषतः बालबालिकाहरूको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै समूहमा पैसा दिने गरेका छन्।