images
images

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

धरान- सुनसरीको बराहक्षेत्र नगरपालिका- १ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा बुधबार अन्तिम शाही स्नान गरिँदैछ।

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन परेकाले बिहानै दर्शनार्थीको भीडभाड बढेको पूर्णमहाकुम्भ मेला समितिका सचिव चन्द्र मगरले जानकारी दिए।

चतराधाममा शाही स्नान गर्न बिहान ६ बजे जगत्गुरु महाराजको साथमा न्यायधीश तिलकराज रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव अर्जुन पाख्रेल, बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरुसहित हजारौँको सङ्ख्यामा सर्वसाधारण र धर्मगुरुले बाजागाजा, झाँकीसहित बराह क्षेत्रधाममा पुगेर साधुसन्तले शाही स्नानपवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गरेका छन्।

आज अन्तिम शाही स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधीश, भक्तजनलगायत स्थानीयवासीले पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गरेका हुन्।

पूर्णमहाकुम्भ मेलामा जम्मा चारवटा शाहीस्नान राखिएको थियो, त्यसमध्ये आजको शाहीस्नान अन्तिमभएकाले स्नान गर्नका लागि नेपालका विभिन्न स्थान र भारतलगायत देशबाट अघिल्लै दिन ठूलो सङ्ख्यामा मानिस कुम्भनगरी चतराधाममा आइपुगेकाे समितिका सचिव मगरले जानकारी दिए।

२८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा चारदिन कुम्भस्नानका लागि विशेषदिन राखिएको थियो। धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ। विशेषगरी स्नानलाई महत्वपूर्ण मानि बराह क्षेत्रमै सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ।

त्यहाँ खाली खुट्टा हिँडेर जानेआउने गरिन्छ । शुभमुर्हूतमा शाहीस्नान गरेमा अमरताको बरदानप्राप्त गर्ने धार्मिक विश्वास छ। कुम्भमा नुहाए अक्षयप्राप्ति हुने धार्मिक मान्यता रहेकाले मानिस देश विदेशबाट कुम्भस्नान गर्न चतराधाम आउने गरेको कुम्भ आयोजक समितिले जनाएको छ।

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा विसं २०५९ सालेखि कुम्भको आयोजना हुँदैआएको छ। यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भमेला र बाह्र वर्षमा पूर्णकुम्भमेला लाग्ने गरेको छ। भारतका चारस्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामोसमयदेखि कुम्भमेला लाग्दै आएको छ।

यहाँ ६/६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भमेला लाग्नेगरेको छ। हिन्दूधर्म शास्त्रमा बराहक्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वरधाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिक ग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए।

बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।